पर्वत, २२ जेठ
मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा पहिरोजन्य प्रकोप बढ्न शुरु भएको छ । पर्वतमा पनि जेठ १५ देखि नै राजमार्गहरु अबरुद्ध हुने, हावाहुरीका कारण घर तथा सार्वजनिक भवनहरुमा क्षति पुग्ने क्रम शुरु भइसकेको छ । यही अवस्थालाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति पर्वतले यो बर्ष नसुनअघि नै पूर्वतयारी र प्रतिकार्य कार्ययोजना ल्याएको छ ।
मनसुनका करिब एक सय दिन (असार-असोजसम्म) बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ । पहाडी भु-भागमा अवस्थित पर्वतमा विशेष गरी नदी किनारका तटिय क्षेत्रमा बढी जोखिम हुने गएको छ भने भिरालो स्थानमा रहेका गाउँबस्तीहरु अब बर्षायाम शुरु भएदेखि नै पहिरोको त्रासमा बस्नुपर्ने अवस्था रहेको छ ।
प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार सम्पन्न बैठकले विपद् सम्बन्धि प्रतिकार्य योजना पारित गरेको हो । प्रजिअ देवी पाण्डे खत्रीको अध्यक्षतामा आयोजित बैठकले जिल्लाका सवै स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मी, उद्योगी व्यवसायी र जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मौसम विद्का अनुसार यस बर्ष धेरै बर्षा हुने र बाढी पहिरो, चट्याङ, हावाहुरी लगायतका विपद्का घटनाबाट धेरै धनजनको क्षति हुने पुर्वानुमान गरिएको छ । सोही अवस्थालाई लक्षित गर्दै मनसुन पुर्व नै प्रतिकार्य योजना बनाएर अघि बढ्ने तयारी गरिएको प्रजिअ देवी पाण्डे खत्रीले बताउनुभयो ।
प्रतिकार्य योजनामा विगतमा भएका विपद् सम्बन्धि घटना सँगै यो बर्ष हुन सक्ने जोखिम युक्त स्थानका अनुमानित घटना र तत्काल उद्धारका लागि जिल्ला भित्र रहेको स्रोत साधन तथा राहत व्यवस्थापनको विषयलाई समाबेश गरिएको छ । त्यस्तै जिल्ला भित्र रहेका सुरक्षा निकायमा सम्बद्ध सुरक्षाकर्मीलाई समेत तयारी अवस्थामा रहनका लागि अनुरोध गरिएको छ ।
सोही बैठकमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले बजेटमा समेत विपद् व्यवस्थापन सम्बन्धि कोष खडा गरी महत्वका साथ प्राथमिकता दिइएको र भवितब्य विपद् घटनामा तत्काल क्षति न्यूनिकरण गर्ने तर्फ आफुहरु सतर्क रहेको बताएका थिए ।
बैठकले पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका ५ वटा बस्तीहरुलाई स्थानान्तरणका लागि माग गर्दै राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिस समेत गरेको छ । जस मध्ये कुश्मा नगरपालिका ३ दुर्लुङका ढकालबारी बस्ती, कोटघर कोट गाउँ र ढकालबारी नुवारखोला रहेका छन् भने जलजला गाउँपालिका ४ को गौरेटे बस्ती र फर्सेलाई स्थानान्तरणका लागि सहयोग गर्न अनुरोध गर्दै सिफारिस गरिएको छ । त्यस्तै कुश्मा नगरपालिका १२ को राम्चेमुनी बस्तीलाई यस अघि नै सिफारिस गरिसकिएकाले स्थानान्तरणका लागि प्राविधिक सहयोग गर्न सम्बन्धित स्थानमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो ।









